हमास कब्जामा विपिन जोशी तीन सातापछि छुट्ने सरकारको विश्वास

काठमाडौं– इजरायल र प्यालेस्टाइनको हमास समूहबिच भएको युद्धविराम सम्झौताअनुसार आइतबार दुवैको नियन्त्रणमा रहेका बन्दी छुट्दै छन् । आइतबार छुट्ने सूचीमा नपरे त्यसको १६औँ दिनमा जोशी छुट्ने परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको विश्वास छ ।
सम्झौताअनुसार सुरुमा छुट्ने ३४ जनाको सूचीमा थपिएर नेपाली विद्यार्थी विपिन जोशी पनि मुक्त हुन सक्ने सरकारको विश्वास छ । युद्धविराम सम्झौताअनुसार आइतबार पहिलो चरणमा, त्यसपछिको १६ दिनमा दोस्रो चरणमा बन्दीहरू छुट्ने भनिएको छ । विपिन जोशी सकभर आइतबारै छुट्नेछन् ।
२० असोज ०८० मा हमास समूहले इजरायल प्रवेश गरेर अन्धाधुन्ध गोली चलाउँदा १० नेपाली विद्यार्थीको निधन भएको थियो । अन्य चारजना घाइते थिए । स्वदेश फर्केका विद्यार्थीले जोशीलाई आक्रमणकारी समूहले नियन्त्रणमा लिएर गएको बताएका थिए । इजरायली भूमिमा आक्रमण गरी प्यालेस्टाइनी हमास समूहले १० नेपालीसहित हजारभन्दा बढी व्यक्तिको हत्या गरेका थिए ।
हमासको आक्रमणमा परी कैलालीका नारायणप्रसाद न्यौपाने र आशिष चौधरी, दार्चुलाका लोकेन्द्रसिंह धामी र दीपेशराज विष्ट, बझाङका गणेशकुमार नेपाली, डोटीका राजन फुलारा र पदम थापा, सल्यानका प्रवेश भण्डारी, धनुषाका आनन्द साह र सुनसरीका राजेशकुमार स्वर्णकारको मृत्यु भएको थियो ।