इजरायली प्रधानमन्त्रीको खुलासा, विपिन जोशीसहित अरु बन्धक छुट्ने बाटो खुल्दै

काठमाडौं– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्यालेस्टानी लडकु समूह हमाससँग बन्धक छुटाउनेबारेमा सहमति भएको बताएका छन् । बेलायती विश्व च्यानल बीबीसीका अनुसार शुक्रवार मन्त्रिपरिषद्को बैठक बसेर यसलाई औपचारिक दिइने भएको छ ।
यस अगाडि अमेरिकाका राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले बन्धक छुटाउने गरी इजरायल र हमासको युद्ध बिराम भएको सबैभन्दा सुरुमा सार्वजनिक गरेका थिए ।
कतारी विश्व च्यानल अलजजिराले पनि हमासका अधिकारीसँग कुरा गरेर युद्ध बिराम सम्झौता भएको उल्लेख गरिसकेको छ । सन २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा हमला गरेर २५१ बन्धक बनाएको थियो । विभिन्न बन्धकहरू छुटाइएका छन् ।
अझैसम्म ९४ बन्धक बाँकी रहेको बीबीसीले उल्लेख गरेको छ । बन्धकमा एक नेपाली विपिन जोशी पनि छन् । परराष्ट्रमन्त्री डाक्टर आरजू राणा देउवाले जोशी जीवित भएको बताएकी छिन् ।