क्षेत्रीले लोकतान्त्रिक सांस्कृतिक जागरण अभियान गर्दै
काठमाडौं– नेपाल सांस्कृतिक महासंघको आयोजनामा देशभर ‘विमलराज क्षेत्री लोकतान्त्रिक सांस्कृतिक जागरण अभियान’ हुने भएको छ ।

संघका अध्यक्ष तीर्थबहादुर थापाले नेपाली कांग्रेसले गरेको क्रियाकलाप, उपलब्धि, सामाजिक रुपान्तरका महत्वपूर्ण घटनाहरु र भावी योजनाबारे देशभरका जनतासमक्ष पुर्याउन अभियानको सुरुआत गर्न लागिएको बताए ।
उनले भने, ‘हामी भ्रातृसंगठन भएका हिसाबले सांस्कृतिक अभियानमार्फत कांग्रेसले गरेको कामबारे जानकारी दिने अभियानमा छौँ, नेपालको परिवर्तनमा नेपाली कलाकर्मीको महत्वलाई पनि हामी प्रस्ट्याउने छौँ, जनमानसमा रहेको केही भ्रम चिर्न पनि महासंघले यो अभियान सुरु गरेको छ ।’

अध्यक्ष थापाले माघ २४ गते नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा उद्घाटन भई सो अभियानको सुरुआत हुने जानकारी दिए। महासंघका महामन्त्री शिवशंकर रिजालले पहिलोचरणमा सातै प्रदेशको हरेक जिल्लामा कार्यक्रम हुने जानकारी दिए ।
भने, ‘जनतामाझ कांग्रेसलाई अझ नजिकबाट चिनाउन यो अभियानले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ, साथै यो अभियानमार्फत स्थानीय कला र संस्कृतिको प्रवद्र्धन पनि हुनेछ ।’ लोक गायक विमलबहादुर क्षेत्रीको सो अभियानमा नेतृत्वदायी भूमिका हुने महासंघले जनाएको छ ।
Image Source: © https://mulpatra.com
