दिसाबाट रगत जाने समस्या र यसबाट बच्ने उपायहरू

दिसाबाट रगत जाने समस्या र यसबाट बच्ने उपायहरू
  • ३ फाल्गुन २०८१, शनिबार २०:३८

दिसाबाट रगत जानु आफैँमा रोगको लक्षण हो । ज्वरो आउने बित्तिकै यही रोग भएको भन्न नसकिएझैँ दिसाबाट रगत आएकै भरमा यही रोग हो भन्न सकिँदैन । यसका कारणहरू अनगिन्ती हुन्छन् । मलद्वारमा साधारण घाउ भएर पनि रगत बग्न सक्छ र क्यान्सर जस्तो रोगले पनि रगत बग्न सक्छ । त्यसैले दिसाबाट रगत आउनासाथ यसको सही पहिचान गरेर उपचारमा लागिहाल्नु बुद्धिमानी हुन्छ ।

फार्मेसीमा औषधीमात्र किन्न जाँदा साधारण घाउका लागि मात्र काम लाग्ने औषधी दिने गरिन्छ । तर अन्य कारणहरू राम्रोसँग नजाँची थाहा हुन सक्दैन । कारणहरू: यसका कारणहरू धेरै छन् । मुखबाट मलद्वारसम्मको आन्द्राको जुनसुकै भागमा पनि मासु पलाएर वा घाउ भएर मलद्वारबाट रगत बग्न सक्छ । शरीरकै अन्य रोगले पनि त्यस्तो लक्षण देखिन सक्छ । शरीरमा रगतको खराबीले मात्रपनि यस्तो हुन सक्छ । मलद्वारबाट रगत बग्दा मान्छेको उमेर अनुसार रोगको अनुमान गरिन्छ । तर यो अनुमान मात्र हो, शतप्रतिशत भने होइन । जस्तै बच्चामा साधारण मासु पलाएको रोग Polyp, Meckel’s diverticulum, necrotizing enterocolitis ले गर्दा रगत आउने सम्भावना बढी हुन्छ ।

बयस्कमा भने पायल्स, टि.वी. मुख्य कारण हुन सक्छ । बृद्ध मानिसमा भने क्यान्सर प्रमुख कारण बन्न सक्छ । दिसामा देखिने रगत पनि रोग अनुसारको रङ लिएर आँउछ । रातो रगत ,कालो रगत ,कलेजी रङको रगतको आ–आफ्नै महङ्खव छ । रगत बगेमा के गर्ने ? स्वास्थ्यकर्मीबाट सल्लाह लिने र सम्बन्धित चिकित्सकबाट जाँच गराउने बानी गर्नु पर्दछ ।

चिकित्सकले सबै कुरा राम्रोसँग सोधखोज गरिसकेपछि जाँच शुरु गरिन्छ । चिकित्सकद्वारा मलद्वारमा औँला पसाएर छामिन्छ र एउटा छोटो पाईप (Proctoscope) लाई मलद्वारमा पसाएर जाँच गरिन्छ । आवश्यक परेमा साढे एक मिटर लामो पाईप (Colonoscope) द्वारा ठुलो आन्द्रा जाँच गर्ने सल्लाह दिइन्छ । कहिलेकाहीँ ठुलो आन्द्राको माथिल्लो भागमा क्यान्सर भएको हुन सक्छ तर मलद्वारमा पायल्स वा साधारण घाउ मात्र पत्ता लाग्दछ । त्यसैले Colonoscope जस्तो उपकरणबाट गरिने जाँचको महत्व बढेको छ । कहिलेकाही बिरामी दुब्लाउदै जाने मात्र देखिएको हुन्छ र दिसामा आँखाले देखिने रगत देखा पर्दैन यस्तो बेलामा आन्द्राको क्यान्सरको शङ्का गरिन्छ । दिसामा रगत छ छैन भनेर सुक्ष्म जाँच (Microscopy for occult blood test) गरिन्छ । यदि आँखाले नदेखिने रगत रहेछ भने त्यस्ता बिरामीलाई Colonoscopy गर्ने सल्लाह दिइन्छ । यदि माथिल्लो आन्द्राबाट रगत बगेको शङ्का लागेमा इण्डोस्कोपी गर्ने गरिन्छ ।


उपचार कसरी गरिन्छ ? के कारणले दिसाबाट रगत आएको छ भन्ने थाहा भएपछि उपचारमा सजिलो हुन्छ । जे कारणले रगत बगेको हो त्यो कारणको उपचारतिर लाग्नु पर्दछ । आन्द्राको घाउ वा अल्सरले रगत आएको हो भने त्यसको उपचार गर्नु पर्दछ । धेरै मानिसमा हुने रोगमा पायल्स पर्दछ । पायल्स भनेको मलद्वारमा रगतको नसाहरू सुनिएर बनेको डल्लो परेको भाग हो ।

दिसा कब्जियत भएकै कारणले मात्र पनि पायल्स हुन सक्छ । कलेजोको रोगले पनि हुन सक्छ । त्यस्तै क्यान्सरले पनि हुन सक्छ । त्यसैले पहिला कारण पत्ता लगाएर मात्र उपचारमा लाग्नु पर्दछ । कुनै बिरामीमा पायल्स बाहिरबाट देखिँदैन । Proctoscope बाट मात्र चिकित्सकले देख्न सक्दछन् । यसले अलि ठूलो रूप लिएपछि बिरामीले छाम्न सक्दछन् । दिसा गर्दा बाहिर निस्कन्छ र दिसा गरिसकेपछि भित्र जान्छ । बिरामी आफैले ठेलेर भित्र पठाउन पनि सक्दछन् ।

कुनै पायल्स भने मलद्वारबाट बाहिरै बनेका पनि हुन्छन् वा भित्रबाट निस्केर बसेका हुन्छन् । जसलाई भित्र पसाउन सकिँदैन । पायल्स साधारणतय दुख्दैन तर पायल्सभित्र रगत जम्यो भने असाध्य दुख्ने हुन्छ । तुरुन्तै अस्पताल जानु पर्ने अवस्था सृजना हुन्छ । त्यसबेला चिकित्सकले जमेको रगत निकाल्ने विधि अपानाउँछन । अस्पतालमा देखिने पायल्सका बिरामीहरू धेरै किसिमका हुन्छन् ।

एक किसिमका बिरामीहरू पढेलेखेका जान्ने बुभ्ने वा बढी सम्वेदनशील हुन्छन् जो साधारण एक दुई थोपा रगत बग्दैमा अस्पताल पुग्छन् जसलाई पायल्स भएको हुन्छ । दोस्रो किसिमका बिरामीमा लामो समयदेखि दिसा गर्दा मासुको डल्लो बाहिर निस्केको हुन्छ । हाल आएर रगत बग्न थालेको हुन्छ र जाँच गर्दा पायल्स मात्र भएको हुन्छ ।

तेस्रो किसिमका बिरामीहरू अति कमजोर हुन्छन् रगत धेरै बगेर सहन नसक्ने अवस्थामा पुगेका हुन्छन् । जसलाई तुरुन्तै भर्ना गरेर रगत चढाउनु पर्ने हुन्छ । चौथौ किसिमका बिरामीहरू पायल्स भन्दै उपचार गराइरहेका र दुब्लाउँदै गएका हुन्छन् जसलाई जाँचपछि क्यान्सर भएको वा फैलिसकेको पत्ता लाग्दछ । पाँचौ किसिमका बिरामी पायल्समा रगत जमेर अत्यन्त दुखेर आएका हुन्छन् जसलाई जमेको रगत निकालेपछि तुरुन्तै आराम भएर घर फर्कन्छन् ।

छैठौँ किसिमका बिरामी यस्ता हुन्छन् जो आफूलाई पायल्स नै भएको भन्नेमा दृढ हुन्छन् तर कुनै जाँचले पनि पायल्स पत्ता लाग्दैन । उनीहरू मानसिक रोगका शिकार भइसकेका हुन्छन् । त्यस्ता बिरामीलाई सबै जाँच गरेर रोग पत्ता नलागेपछि मानसिक रोगको चिकित्सक कहाँ पठाइन्छ । पायल्सको रूप ठूलो सानो अनुसार उपचारको विधि पनि फरक–फरक हुन्छ ।

सानो खाले पायल्सलाई औषधीबाट ठीक पारिन्छ र ठूलो खालको लाई शल्यक्रिया नगरी रवरले बाध्ने विधि (Banding) बाट वा अझ ठूलो लाई शल्यक्रियाबाट उपचार गरिन्छ । शल्यक्रिया पनि दुई किसिमले गरिन्छ । पहिलेदेखि चल्दै आएको विधि चिरेर गरिने तरिका हो । हाल नचिरिकन आधुनिक Stapled haemorrhoidectomy को विधिबाट शल्यक्रिया गरिन्छ जसले गर्दा बिरामीलाई शल्यक्रिया पश्चात दुखाई नहुने वा अत्यन्त कम हुने, शल्यक्रिया गरेकै दिन वा भोलिपल्टै घर जान सकिने हुन्छ ।

घाउ पनि असाध्यै चाँडो ठीक हुन्छ तर यो विधि अलि खर्चिलो हुन्छ । उपचारपछि भविष्यमा पायल्स नहोस् भनी केही उपायहरू सिकाइन्छ । पानी धेरै पिउने, सागसब्जी फलफूल धेरै खाने, आयाम ब्यायाममा लाग्ने गर्दा दिसा साफ हुन्छ र पायल्सबाट पनि बच्न सकिन्छ । क्यान्सर भएको कारणले पायल्स भएको रहेछ भने सम्वन्धित रोगको उपचारमा लाग्नु पर्दछ ।

(लेखक हाल ओम अस्पताल, चावहिलमा वरिष्ठ शल्य चिकित्सकका रुपमा कार्यरत हुनुहुन्छ)