भारत घटनामा कुटनीतिक असफल, भारतसँग छानबिन गरी नेपाली विद्यार्थीलाई न्याय दिन प्रसाईको माग

काठमाडौं– भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) बी–टेक तेस्रो वर्षमा पढ्ने नेपाली छात्रा प्रकृति लम्साल आइतबार साँझ होस्टेलमा शंकास्पद अवस्थामा मृत भेटिएकी हुन् । त्यसपछि न्याय माग्दै त्यहाँ पढ्ने नेपाली विद्यार्थी विरोध प्रदर्शनमा उत्रिएका छन् ।
यस विषयमा सरकारको कुटनीतिक पहल कमजोर भएको नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले बताएका छन् । सरकारले यस घटनामा उच्च प्रथामिकतामा राखेर कुटनीतिक पहल गर्न नसकेको प्रसाईले औंल्याए । ‘भारतमा के भयो यस विषयमा सरकारले उच्च तहमा कुटनीतिक पहल गर्नुभन्दा यस घटनाबाट पन्छिन खोजेको देखियो।’ उनले भने ।
विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएको घटनाका सम्बन्धमा भारत सरकारले प्रथामिकतामा राखेर छानबिन गर्नुपर्ने र भारत सरकारले न्यायिक काम गर्ने उनको भनाइ छ।
भारत सरकारले नेपाली विद्यार्थीमाथि भएको घटनामा छानबिन गरी दोषीमाथि कारवाही गर्ने उनको माग छ ।
केआइआइटी कलेजमा बी–टेक तेस्रो वर्षमा अध्ययनरत प्रकृति होस्टलको कोठाभित्रै सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा शनिवार साँझ फेला परेकी थिइन् । त्यस लगत्तै नेपाली विद्यार्थीहरूले न्यायको माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरेका थिए । उनीहरूलाई केही भारतीय विद्यार्थीले पनि साथ दिएका छन् । तर, कलेज प्रशासनले विद्यार्थीको माग सुनवाइ गर्नुको साटो उनीहरूमाथि दमन गरेको थियो । नेपाली विद्यार्थीहरू होस्टलबाट जबरजस्ती लखेटिएका थिए ।
भारतीय सञ्चारमाध्यमका अनुसार पाँच सय विद्यार्थीहरूलाई जबरजस्ती होस्टलबाट निकालिएको छ । उनीहरूलाई स्कुलको दुईवटा बसमा कोचेर कट्टक रेल्वे स्टेसनमा उतारिएको थियो । विद्यार्थीहरू बिचल्लीमा परेको खबर सार्वजनिक भएसँगै दिल्लीस्थित नेपाली दूतावासले चासो दियो । दूतावासको समन्वयपछि कलेजले विद्यार्थीहरूलाई होस्टल फर्काउन भारत सरकारसँग आग्रह गरेको छ । यस विषयमा भारत सरकारले पनि छानबिन गरिरहेको छ ।