‘लाज शरणम्’ बनाउन कुनै कसुर बाँकी नराखेको निर्माता श्रेष्ठको दावी

काठमाडौं– चलचित्र ‘लाज शरणम्’का निर्माणका लागि बजेट, लोकेसन र समयमा आफूले कुनै पनि सम्झौता नगरेको निर्माता नवीन श्रेष्ठले बताएका छन् ।
लाज शरणम्’को टिम र मिहिनेत देखेर मैले यो क्षेत्रमा लगानी गरेको हुँ । अब यो क्षेत्रमा प्रवेश गरेपछि म पछि हट्दिनँ, चलचित्रमा लगानी गरिरहने समेत उनले जानकारी दिए ।
रियल इस्टेटको व्यापार केही सुस्ताएको बेला चलचित्रमा आए पनि यसलाई निरन्तरता दिने उनको भनाइ छ । आफू चलचित्र क्षेत्रमा आउनुको अर्को पनि कारण रहेको नवीन बताउँछन् । रियल इस्टेट र होटेल व्यवसायमा रहेका नवीनको चलचित्रमा यो पहिलो लगानी हो । यसअघि उनले कला, साहित्य र सिनेमामा लगानी गरेका थिएनन् ।
लोकप्रिय हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले निर्माण गरेको चलचित्र ‘लाज शरणम्’मा मुख्य भूमिकामा सिताराम कट्टेल (धुर्मुस) छन् । चलचित्रलाई कुमार कट्टेलले निर्देशन गरेका छन् ।
नेपाली चलचित्रलाई डलर भित्र्याउने माध्यमका रूपमा कलाकार, निर्माता र सरकार सबै मिलेर अगाडि बढाउनुपर्नेमा उनको जोड छ । चलचित्र ‘लाज शरणम्’ महाशिवरात्रिको अवसर पारेर फागुन १४ गतेदेखि प्रदर्शनमा आउँदै छ ।
विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय रहेको छ ।
जेपिटी क्रियसनको ब्यानरमा बनेको सिनेमाका निर्माता नवीन श्रेष्ठ हुन् भने राम नरेश शाह र सिर्जना खड्का सह–निर्माताका रूपमा रहेका छन् ।