Close

Recent Posts

अमेरिकासँगको खनिज सम्झौताबारे युरोपेलीको ढाडस पाएपछि जेलेन्स्कीको दिए यस्तो प्रतिक्रिया

अमेरिकासँगको खनिज सम्झौताबारे युरोपेलीको ढाडस पाएपछि जेलेन्स्कीको दिए यस्तो प्रतिक्रिया
  • १९ फाल्गुन २०८१, सोमबार ११:२९

काठमाडौं– ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको विवादपछि युरोप पुगेका युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले न्यानो स्वागत पाए । बेलायती प्रधानमन्त्री किएर स्टार्मरले उनलाई लन्डनमा अँगालो हालेरै स्वागत गरे ।

युरोपमा उनले न्यानो स्वागत पाए पनि ट्रम्पसँगको विवादका कारण उनी ’ब्याक फुट’मा आएको टिप्पणी भइरहेको छ । लन्डनमा रहँदा उनले बेलायती राजा चाल्र्स तृतीयसँग पनि भेट गरे ।

उक्त भेटपछि जेलेन्स्कीले प्रतिक्रिया दिँदै आफू अमेरिकासँग खनिज सम्झौतामा हस्ताक्षर गर्न तयार रहेको बताएका छन् । यसलाई उनले युक्रेनको सुरक्षाको ग्यारेन्टीको दिशाको पहिलो कदमका रूपमा अथ्र्याएका छन् । यद्यपि, यति मात्र पर्याप्त नहुनेमा उनले जोड दिएका छन् ।

जेलेन्स्कीले बेलायती प्रधानमन्त्री किएर स्टार्मरसँग पनि कुराकानी गरेका थिए । जेलेन्स्कीले सामाजिक सञ्जाल एक्स (ट्विटर) मा लेखेका छन्– हामी खनिज सम्झौतामा हस्ताक्षर गर्न तयार छौँ । यो सुरक्षाको ग्यारेन्टीको दिशामा पहिलो कदम हुनेछ । यद्यपि, यो पर्याप्त छैन । हामीलाई यसभन्दा धेरै बढी आवश्यकता छ ।

उनले सुरक्षाको ग्यारेन्टीबिनाको युद्धविराम युक्रेनका लागि खतरा भएको टिप्पणी पनि गरे । उनले लेखेका छन्– ’हामी ३ वर्षदेखि लडिरहेका छौँ । र, युक्रेनका जनताहरूलाई यो जान्न आवश्यक छ कि अमेरिका हाम्रो पक्षमा छ ।’

स्थानीय समयअनुसार लन्डनमा युरोपेली नेताहरूको शिखर सम्मेलनमा युक्रेनको पक्षमा समर्थनपछि जेलेन्स्कीको यो प्रतिक्रिया आएको हो । यो शिखर सम्मेलन युक्रेनको भविष्य तथा युरोपसँग उसको सम्बन्धमा केन्द्रित थियो । युरोपले युक्रेनलाई समर्थन गरेकोमा उनले धन्यवाद पनि दिएका छन् ।

शिखर सम्मेलनका क्रममा बेलायती प्रधानमन्त्री स्टार्मरले यो कुराकानी गर्ने समय नभएको बताएका छन् । फ्रन्स र अन्य देशसँग मिलेर युद्ध रोक्ने योजनामा आफूले काम गरिरहेको उनले बताएका छन् । उक्त योजना अमेरिका समक्ष पेस गरिने उनको भनाइ छ ।
एजेन्सीको सहयोगमा