ओली र देउवाबीच विहिबारभित्र नयाँ गभर्नर नियुक्त गर्ने सहमति

ओली र देउवाबीच विहिबारभित्र नयाँ गभर्नर नियुक्त गर्ने सहमति
  • १४ बैशाख २०८२, आईतवार १०:२८

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवाबीच यसै साता नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने सहमति भएको छ । शनिबार साँझ दुई घण्टासम्म बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भएको वार्तामा ओली र देउवाबीच यस्तो सहमति बनेको हो ।

‘उहाँहरुबीच यसैसाता गभर्नर नियुक्तिको विषय टुंग्याउने सहमति भएको छ ।, बालुवाटार स्रोतले बतायो । उनका अनुसार आगामी बिहीबारसम्म नयाँ गभर्नर नियुक्त भइसक्नेछन्।’

ओली र देउवा यसअघि नै डा। गुणाकर भट्टलाई नेपाल राष्ट्र बैंकको गभर्नर बनाउन सहमत भइसकेका छन् ।

गभर्नर नियुक्तिका लागि सरकारले अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा विजयनाथ भट्टराई र विश्व पौडेल सदस्य सहेको सिफारिस समिति गठन गरेको थियो । तर, सिफारिस समितिका सदस्य विजयनाथ भट्टराईले राजीनामा दिएका छन् ।

स्रोतका अनुसार, सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले सिफारिस समितिको रिक्त पदमा एक सदस्य नियुक्त गर्ने र बिहीबारसम्म गभर्नर नियुक्त गरिसक्ने समझदारी नेताहरूबीच बनेको छ ।

महाप्रसाद अधिकारीले गत चैत २५ गते अवकाश पाएपछि गभर्नरको पद रिक्त छ ।