Close

Recent Posts

अनलाइनबाटै डिमाण्ड प्रमाणीकरण, वैदेशिक रोजगारी पुर्ण पेपरलेस

अनलाइनबाटै डिमाण्ड प्रमाणीकरण, वैदेशिक रोजगारी पुर्ण पेपरलेस
  • ३१ श्रावण २०८१, बिहीबार ०७:१९

काठमाडौँ– सरकारले अनलाइन प्रणालीबाटै डिमाण्ड प्रमाणीकरणको काम सुचारु गर्ने भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सम्बन्धीत देशका दूतवासबाट अनलाइनमार्फत डिमाण्ड प्रमाणीकरणको काम यही महिनाबाट सुरु गर्ने जनाएको छ। अनलाइनबाट मागपत्र प्रमाणीकरण गर्ने योजना २०७५ सालमै बनेको थियो। कार्यन्वयनमा भएको थिएन।

तत्कालिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्टले २०७५ सालमा वैदेशिक रोजगारी क्षेत्रका सबै काम अनलाइन प्रणालीमार्फत गर्ने योजना अघि सारेका थिए।
त्यसको तीन बर्षपछि श्रम मन्त्रालयले २०७८ माघदेखि पुनः श्रम स्वीकृति अनलाइनबाटै वितरण गर्न सुरु गरेको छ। भने गत सालदेखि व्यक्तिगत र संस्थागत श्रम स्वीकृतिको काम अनलाइनबाट भइरहेको वैदेशिक रोजगार विभागले जनाएको छ।

मागपत्र प्रमाणीकरणको काम बोहक तीन बर्षयता वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको सबै प्रक्रिया अनलाइनबाटै भइरहेको श्रम मन्त्रालयले जनाएको छ। मागपत्र प्रमाणीकरणको काम पनि चाँडै अनलाइनबाट सुरु गर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता गोविन्द रिजालले जानकारी दिए।

रोजगारदाता देशका दूतावासबाट मागपत्र प्रमाणीकरण गर्ने सफ्वेयर निर्माण भइसकेको छ। भरसक यही महिनादेखि अनलाइनबाटै मागपत्र प्रमाणिकरणको काम सुरु गर्ने तयारी भइरहेको उनले बताए। ‘मागपत्र प्रमाणीकरणमा भौतिक उपस्थितिलाई अन्त्य गरी सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउन अनलाइन प्रणालीबाटै भिसा प्रमाणीकरणको काम सुरु गर्ने हो। त्यसका लागि आवश्यक जनशक्ति थप्ने छलफल भइरहेको छ।’ उनले भने।
यस्तै, अनलाइन प्रणालीमार्फत मागपत्र प्रमाणीकरणका लागि रोजगारदाता कम्पनीलाई युजर आइडी उपलब्ध गराउन यूएईस्थित नेपाली दूतावासले आग्रह गरेको छ।

मागपत्र प्रमाणीकरणको काम अनलाइनमार्फत गर्ने सूचना जारी गदै दूतावासले युएईका रोजगारदातालाई जेठ ११ गतेदेखि युजर रजिस्ट्रेसन उपलब्ध गराउने आग्रह गरेको हो।
रोजगारदाता कम्पनीले युजर रजिस्ट्रेसन गरिसकेपछि दूतावासबाट छिटै नै युजर रजिस्ट्रेसन एक्टिभ गराई अनलाइन माग प्रमाणीकरणको काम सुरु हुने दूतावासको विज्ञप्तीमा भनिएको छ। दूतावासले पनि चाँडै मागपत्र प्रमाणीकरणको काम अनलाइन प्रणालीबाट सुरु हुने जनाएको छ।

यस्तै, सम्बन्धीत देशका दूतावासले चाँडै अनलाइनमार्फत भिसा प्रमाणीकरणको काम थालेपछि फाइल बोकेर रोजगारदाता कम्पनी र म्यानपावर कम्पनीका कर्मचारी दूतावास धाउनुपर्ने बाध्यता अन्त्य हुने श्रम मन्त्रालयले जनाएको छ। अहिले रोजगारदाता कम्पनी र म्यानपावरका कर्मचारी मागपत्र प्रमाणिकरणका लागि फाइल भोकेर भौतिक रुपमै दूतावास पुग्नुपर्ने अवस्था छ।

वैदेशिक रोजगारी पेपरलेस

दुई बर्षयता श्रम मन्त्रालयले सबै खालका श्रम स्वकृतिलाई फेसलेस, क्यासलेस र पेपरलेस बनाएको छ। नयाँ व्यक्तिगत श्रम स्वीकृति पनि अनलाइनबाट कामदारले एक घण्टाभित्र पाउने थालेका छन्। मागपत्र प्रमाणिकरण बाहेक वैदेशिक रोजगारीका सबै काम अनलाइनबाट भइरहेको वैदेशिक रोजगार विभागका महानिर्देशक डन्डुराज घिमिरेले जानकारी दिए। मागपत्र प्रमाणीकरणको काम पनि अनलाइनबाट सुरु भएपछि वैदेशिक रोजगारी क्षेत्रमा फेसलेस, क्यासलेस र पेपरलेसका बन्द भएको उनले बताए।

कामदारको डिमाण्ड ल्याएपछि रोजगारदाता कम्पनीको युजर आइडी बनाएर मागपत्र प्रमाणीकरणको काम हुने श्रम मन्त्रालयले जनाएको छ। भने व्यक्तिगत श्रम स्वीकृति लिँदा सम्बन्धित देशको नेपाली राजदूतावासबाट कागजात प्रमाणीकरण आवश्यक पर्छ। यो काम पनि अब अनलाइनबाटै हुने श्रम मन्त्रालयले जनाएको छ।

यस्तै, रोजगारदाताले सबै कागजपत्र, कामदार माग संख्या र रोजगारीको विवरण दूतावासमा इमेलमार्फत पठाएपछि सामाजिक सुरक्षा,बीमा, सेवा सुविधा र अन्य विषयमा अध्ययन गरेर भिसा प्रमाणीकरण गरिने श्रम मन्त्रालयले जनाएको छ। सम्बन्धित रोजगारदाता कम्पनीले इमेलमार्फत पठाएका सबै कागजात अनलाइनबाट परिक्षण गरि भिसा प्रमाणीकरण हुने समेत श्रम मन्त्रालयले जनाएको छ।

वैदेशिक रोजगारीमा व्यक्तिगत श्रम स्वीकृति लिई रोजगारदाता देशमा अलपत्र पर्ने, झुटो मागपत्र देखाएर ठगि गर्ने क्रम अन्त्य, मात्रपत्रमै लागत खर्च उल्लेख, सेवा–सुविधा र अन्य आवश्यक कुरा प्रष्ट उल्लेख भएपछि मात्र मागपत्र प्रमाणिकरण हुने श्रम मन्त्रालयले जनाएको छ।
वैदेशिक रोजगारीमा कामदार पठाउने म्यानपावर, एजेन्ट, व्यक्तिगत दलाल र कन्सल्टेन्सीले झुटो प्रलोभन देखाएर ठग्ने र बढी रकम तिर्न बाध्य पार्ने प्रवृत्ति मागपत्र प्रमाणीकरणपछि अन्त्य हुने श्रम मन्त्रालयको विश्वास छ।
४४ देशबाट मासिक रुपमा ८० हजारभन्दा बढी रोजगारदाता देशबाट मागपत्रको आवेदन आउने गरेको विभागले जनाएको छ। हाल खाडीका देश, युरोप, अफ्रिका र मलेसियाका रोजगारदाताले मागपत्र प्रमाणिकरणका लागि आवेदन दैनिक दिने गरेको विभागको भनाइ छ।