बालक हराएको सूचना

बालक हराएको सूचना
  • १३ पुष २०८१, शनिबार ०८:१७

– “यो सुन्नुहोस् बालक हराएको सूचना ।”
यस्ता सूचनाहरु धेरैपल्ट सुनिसकेकाले होला, नजिकै खाटमा बसेर आफ्नै जिन्दगीको जोड–घटाउ गरिरहेकी आमा मलाई सोध्नु हुन्छ:
– “नानी, यो रेडियो सधैं बालक हरायो भन्छ, कहाँ जान्छन् बाबु ती बालकहरु ?”
म लेख्दै गरेको कलम टक्क रोक्छु र केही क्षणपछि भन्छु:
–“कहाँ जान्छन् र ? भीडभाडमा यसो एकछिन अल्मलिन्छन् अनि फेरि भेट्टाइहाल्छन् नि !”
– “खै भेटिएको खबर त भन्दैन नि त नानी यसले ?”
– “किन भन्नुप¥यो र ? जसको हराएको हो उसले भेटे त भइगयो नि ।”
आमा चुप लाग्नुहुन्छ । उहाँलाई मेरो जवाफले चित्त बुझेको पनि हुनसक्छ, नबुझेको पनि । तर, त्यस कुरालाई लिएर म कुनै लामो गफ गर्न चाहन्न ।
म भने कहिले माथि कहिले तल हुन थाल्छु विचारका तरङ्गहरुमा । मलाई यो वालक हराएको सूचनाले किनकिनभित्र कहाँनेर एक प्रकारको नमीठो स्पर्श गर्छ । आमाले जस्तै मैले पनि यो सूचना यो रेडियो किनेर ल्याएको दिनदेखि नै सुुन्दै आएको छु । हुन पनि यो रेडियो किनेर ल्याएको दिन हाम्रो घरमा सानो–सानो एउटा चाड नै आएको थियो । घरभरि खुसीको कुनै सीमा थिएन । सबै जना रेडियोका वरिपरि भएर बसेका थिए र रेडियो पूरा भोल्युममा खोलिएको थियो । त्यो रात रेडियो नेपालका कार्यक्रम सकिएर पनि कैयौं नबुझिने भाषामा रेडियो बजिरह्यो तर बिस्तारै अचेल यही रेडियो मेरो लागि खबर सुन्ने साधनमात्र हुनपुग्यो ।
यो रेडियो लगातार बोलिरहन्छ प्रसङ्गहरु फेर्दै । क्षण–क्षणमा फेरिने प्रसङ्गहरु बीचबाट हठात् निस्किएको यो पनि एउटा प्रसङ्ग थियो, जसले आज आमालाई एउटा प्रश्न गर्न विवश बनायो । हुनसक्छ कविको जस्तो कल्पना शक्ति नभएको उनको त्यो मनले पनि आज यस सूचनालाई विशेष रुपले ग्रहण गरेको होस् या त्यो बालक हराउनुको वियोगी क्षणले उनको भावुकतालाई उचालेको होस् । जे भए पनि आजको यस सूचनाले आमा र म दूबैलाई असर गरेर गयो ।
वास्तवमा यहाँ सधँै बालकहरु हराइरहन्छन् । हरेक क्षण बालकहरु हराइरहन्छन् । लाखौं करोडौं बालकहरु प्रत्येक दशकमा हराइरहन्छन् र ती बालकका ठाउँमा एक दामले युवाहरु भरिँदै गएका छन् । म जो कृष्ण धराबासी वसिरहेछु ठीक त्यही ठाउँमा आजभन्दा झन्डै दुई दशक अघि एउटा ६–७ वर्र्षको कृष्णप्रसाद भट्टराई नाम गरेको बालक थियो । ऊ राम्रो थियो, सुन्दर थियो । साह्रै मोटो पनि थिएन, मरन्च्याँसे पनि थिएन । उसका आँखा गोला र चम्किला थिए र त्यहाँ जतासुकै विश्वासै–विश्वास देख्न सक्ने चमक थियो । उसका कलिला ओठहरु थिए र ती जति बेला पनि मुस्काइरहन्थे । उसका साना–साना हातहरु थिए । ती साना हातहरुले ऊ कहिले झुम्राका पुतलीहरु बनाउथ्यो, कहिले मकैका ढोड र खोसेलाहरुबाट फिरफिरे बनाएर सबैलाई चकित पार्न खोज्थ्यो । उसका पाइतालाहरुमा कलिलो छाला थियो । तीखा काँडा र ढुङ्गाहरुले घोचेको बेलामा मात्र पीडाले उसको अनुहारको छाला खुम्चिने गथ्र्यो र उसका ओठ र च्युँडामा दाह्री जुङ्गा पनि उम्रेलान् भन्ने कुनै निशान थिएन ।
ऊ प्राय आँगन, करेसो, फूलबारी या घरको भित्री कोठाहरुमा हुन्थ्यो । ऊ एक्लै पनि हुन्थ्यो, साथीहरुसँग पनि हुन्थ्यो । कहिले काहीँ इमान्दार हुन्थ्यो र कहिले बदमासी गथ्र्यो र उसले भेला गरेको सानो शब्द ढुकुटीबाट चाहिँदा शब्द छानेर ऊ साथीहरुसँग मिल्थ्यो पनि र बाझ्थ्यो पनि । एक दिन उसले सबभन्दा ठूलो बदमासी यसरी गरेको थियो– सबै साथीहरुलाई भेला गरेर ठेकीको दही चोरेको थियो र त्यसै बेला आमा आइपुगेकी हुँदा सबुतसहित चोरीमा पक्राउ परेको थियो । चोरले मुड्के सास्ती पाएपछि उसको नाम ‘लयप्रसाद’बाट कृष्णप्रसाद भएको थियो र यो कुरा उसले धेरैपछि मात्र बुझेको हो । हजुरबाले पढेर सुनाएका ‘कृष्ण चरित्र’का कथाहरुबाट ।
ऊ धेरै रहर गथ्र्याे, थुप्रै–थुप्रै कल्पना पनि गथ्र्यो । उसलाई सुनकेशरी रानीको कथा सबैभन्दा धेरै मन पथ्र्याे । उसलाई पानी परेको बेला पनि साह्रै मन पथ्र्यो र धुम्मिएको आकाश हेरेर रमाइरहन्थ्यो । असिना झरेको दिन भने उसको खुसीको सीमा हँुदैन थियो । ऊ प्रशस्त असिना भेला गर्न आँगनमा जताततै फुर्तीसाथ कुद्थ्यो र एकएक वटा असिना टिप्दै मजेरीमा थुपाथ्र्यो नत्र कुनै भाँडामा राख्थ्यो । उसलाई यस्तो लाग्थ्यो, ऊ ससांरको सबभन्दा बहुमूल्य मोती टिपिरहेछ । तर भरे आमाको काखमा टाउको राखेर सुँक्क–सुँक्क रुन्थ्यो जब उसले त्यत्रो दुःख गरेर थुपारेका सबै असिनाहरु बिलाएर जान्थे र पानी मात्र बाँकी रहेको हुन्थ्यो, उसले असिना राखेको भाँडोमा । र पनि ऊ असिना भेला गर्नमा सधैं उत्साहित देखिन्थ्यो । ऊ हरेकपल्टको असिनासँगभित्रैदेखि प्रेम गथ्र्यो र ती असिनाहरु बिलाएर जादा पिरोलिन्थ्यो मात्र । तर उसकी आमालाई त्यसले कुनै असर गर्दैन थियो । किनभने उनलाई थाहा थियो जीवनका हरेक कुराहरु असिना जस्तै बिलाएर जान्छन् । असिना भेटेकोमा आनन्दित भई नसक्दै पानीमात्र शेष देखिन्छ । र, त्यो पनि केहि समयपछि नै बाफ भइहाल्छ । यो कुरा त्यो बालकले बुझ्ने कुरा थिएन र नबुझेकैमा ऊ सुखी र आनन्दित थियो ।
आँगनमा खेल्दै गर्दा जब ऊ कुनै कमिलाको ताँती कतैबाट आएर कतै गइरहेको देख्थ्यो तब सबै खेलहरुलाई त्यहीँ रोकेर ऊ कमिलाको ताँतीलाई हेर्न थाल्थ्यो । किनकिन कमिलोजस्तै सानो भएर उसलाई पनि त्यही ताँतीमा मिसिएर जाँउ–जाउँजस्तो लाग्थ्यो । ऊ त्यो ताँतीलाई पच्छ्याएर आँगनको पल्लो छेउसम्म पुग्थ्यो र जब कमिलाहरु कुनै प्वालमा पस्न थाल्थे अनि एउटा वियोगको चिसो बतासले उसलाई छातीमा हानेजस्तो लाग्थ्यो । ऊ निहुरी–निहुरी त्यो प्वालकोभित्रसम्म हेथ्र्यो जहाँ भर्खर उसले पछ्याउँदै आएको कमिलाको ताँती छिरिरहेको हुन्थ्यो र आफू भने त्यहाँ पस्न नसकेकोमा एउटा अव्यक्त व्यथा बोकेर फर्कन्थ्यो ।
उसँग अलिअलि रोड्याइँ र झगडाहरु पनि थिए, अलिअलि ढिपी र बदमाशीहरु पनि थिए र भए पनि त्यो वालक सम्पूर्णमा एउटा कलाकारले आफ्नो जम्मै आयु लगाएर रचना गरेको कुनै चित्रभन्दा राम्रो थियो । आफ्नो जम्मै भावना पोखेर कुनै कविले लेखेको कविताभन्दा मीठो थियो र उसँग धेरै–धेरै मायाहरु पनि थिए, धेरै–धेरै आश्चर्य र रमिताहरु पनि थिए । उसलाई बर्षैपिच्छे काकीले नयाँ–नयाँ बच्चाहरु जम्माइदिएकोमा आश्चर्य लाग्थ्यो र ती कसरी भए होलान् भन्ने कुराले ऊ चकित हुन्थ्यो । तथापि ती भर्खर जन्मेका कलिला बालकहरुको छेउमा घन्टौं बसिरहनु, तिनीहरुले आँखा चिम्ली–चिम्लीकन रोएको हेर्नु र कामका धमाधममा पनि काकी भने दिनभरी सुतिरहनुको दृश्य उसलाई कुनै महान् रहस्यभित्रको गुढ तत्वझैं लाग्थ्यो ।
हो, एउटा यस्तो बालक जो आज हराएको छ र त्यसको ठाउँमा ओठभरि टम्म जुँगा भएको, गालाभरि दाह्री भएको, सामान्य कदको एउटा युवक उभिएको छु जसभित्र आज त्यो बालकपनका कुनै उद्वेगहरु छैनन्, कुनै कल्पना छैनन् । आज यो युवकलाई कमिलाका ताँतीले आकर्षित गर्दैनन् । आकाशबाट झर्ने असिनाले एउटा रमाइलो होइन व्यथा छोडेर जान्छ । बारीभरि सप्रिएर आएका मकैका पात च्यात्ने, बोटमा लटरम्म फलेका आँप र लिची झार्ने, पाकेको धानलाई फेदैदेखि सोत्तर लडाउने यो असिना आज उसलाई भेला गर्नुमा गर्व छैन । ती वर्षैपिच्छे नयाँ–नयाँ वालक जन्माउनुमा गर्व ठान्नेहरुप्रति पनि ऊ चिन्ता सोचिदिन्छ र युगको यो घँटेसिलाग्दो परिवेशभित्र– परिवार घटाऊ सुख बढाऊ भन्ने नारा लगाउन खोज्छ ।
अहिले यो युवकका हत्केलाभरि ठेलाहरु छन् । पैतालाको छाला मरेको छ र निक्कै तीखा रोडाहरु पनि अहिले उसलाई बिझाउँदैनन् । आँगन, कोठा वा बलेंसीमा बसेर अब यो युवक एक्लै–एक्लै रमाइलो कल्पना गरेर होइन कि व्यथाका कथा रचेर सुकसुकाउँछ । अब ऊ दही चोरेर खाँदैन, बरु दहीबाट निस्कने घ्यूको प्रति के.जी. मूल्य उसलाई थाहा छ । बरु चियामा समेत दूधको कटौती गरेर फारु गर्न खोज्छ ।
ए, तिमी त्यो बालक ! तिम्रो लागि अहिले म गोरखापत्रमा कुनै सूचना छाप्न सक्दिन या कुनै विज्ञापन सेवामा– बालक हराएको सूचना प्रसारण गराउन सक्दिन । न त नजिकको प्रहरीमा बुझाइदिने अनुरोधहरु नै गर्नसक्छु । तिमी एउटा फिल्मको दृश्यजस्तै आएका थियौ र एउटा नाटकको पर्दाजस्तै झरेर गयौ । तिमी एउटी अपरिचित राम्री युवतीजस्तै आएका थियौ र परिचयपछि नै छुट्टिएर गयौ । र हो, र अहिले तिम्रो ठाँउमा म एउटा युवक खडा छु जो घर र आँगनभन्दा धेरै टाढाटाढाका कुराहरु पनि सोचिरहन्छु । ठाउँ–ठाउँमा भइरहने दंगाफसादहरु, खडेरी र अनिकालहरु रोग र महामारीका कुराहरु पनि सोचिरहन्छु । विश्व राजनीतिको गन्जागोलभित्र शान्तिको कामना पनि गरिरहन्छु । इरान–इराकका युद्धहरु, आसाम पन्जावका दंगाहरु, काला–गोराका भविष्यहरु यी सबै–सबैतिर म छरिँदै गइरहेको छु । यसरी तिमी जो जन्मेका थियौ, त्यहाँ म नजन्मिएको युवक उभिएको छु ।
यसैले म मेरी आमाको प्रश्नलाई टारिदिन चाहन्छु किनकि उनले आफैँ जन्माएका बालकहरु पनि हराएकी छिन् र साँझ सुतेर विहान उठ्ने उनको जीवन प्रक्रियासँग उनले सबैभन्दा धेरै माया गर्ने गरेका बालकहरु गुमाएकी छिन् । तिनीहरु कोही छोरीहरु भएका छन् र ज्वाँईहरुसँग छन् । कोही छोराहरु भएका छन् र बुहारीहरुसँग छन् । तर यो कुरा उनले बुझेकी छैनन् र यो उनले नबुझेकै राम्रो हुनेछ । यसैले म नबोली बसेको छु, चुपचाप बसेको छु र यो बालक हराएको सूचना सुनेर एक्लै–एक्लै घोत्लिरहेको छु ।
(वरिष्ठ साहित्यकार धरावासीको यो निबन्ध गरिमा पूर्णाङ्क ६७, असार २०४५ प्रकाशित थियो)