अवैध बाटो हुँदै विदेशीएका महिलालाई नक्कली श्रीमति बन्नुपर्ने बाध्यता

हङकङ हिडेकी चम्पा इरानमा सात वर्ष हराइन्
काठमाडौं। सिन्धुपाल्चोक बाह्रविसेकी ३४ वर्षीय चम्पादेवि क्षेत्री (नाम परिर्वतन) तीन पटक अवैध बाटो भएर वैदेशिक रोजगारीमा गइन्। उनी तीनै पटक भारतको बाटो भएर छ वटा देश पुगेर स्वदेश फर्किएकी हुन्। अवैध बाटो हुँदै वैदेशिक रोजगारीमा जाँदा महिला कामदारले नेपालभित्र तीन तहका एजेन्टसँग सम्पर्क गर्नुपर्ने बाध्यता रहेको चम्पादेखि क्षेत्री बनाउँछिन्। उनले ११ वर्ष वैदेशिक रोजगारीमा बिताइन्।
पहिला साउदी र लेवनान पुगेर फर्किएकी चप्पादेवि क्षेत्री ७ वर्षअघि भने दलालको फन्दामा पर्दा इरान पुगिन्। उनी इरानमा सात वर्ष साहुको घरमा बन्धक जिवन बिताएर गत महिना स्वदेश फर्केकी छिन्। चम्पादेवि वैदेशिक रोजगारीमा जाँदा ७ जना दलालको श्रीमति हुनुपरेको बाध्यता सुनाउँछिन्। छोरा–छोरी पढाउन विदेशीएकी उनी ७ वर्ष इरानमै हराइन्। नेपालबाट छोरीले पहल गरेपछि उनलाई कुवेतस्थित नेपाली दूतावासको सहयोगमा स्वदेश फकाइयो।
इरान द्वन्दग्रस्त देश भएका कारण १७ महिना पहल गरेपछि चम्पालाई दूतावासले इरानस्थित महाबाणिज्य दूतको सहयोगमा उद्धार गरेको हो। हाल उनी वैदेशिक रोजगारीसम्बन्धी काम गर्ने संस्थामा बसेकी छिन्। नेपालबाटै जाँदा बाटोमै दलालबाट असुरक्षित भने अर्कोतिर रोजगारदाता देशमा पुगेपछि साहुबाट झन असुरक्षित हुनुपरेको पीडा उनले सुनाइन्। वैदेशिक रोजगारीका लागि छ वटा देश पुगे। यसरी वैदेशिक रोजगारीमा जाँदा सात जना जति एजेन्टको नक्कली श्रीमति बन्नु परेको उनले बताइन्। ‘वैध बाटो हुँदै वैदेशिक रोजगारीमा जाँदा बाटोमै कैयौँ पटक दलालले शारीरिक शोषण गर्छन्।
नक्कली श्रीमति बनाएर सिमाना नघाउँछन्। म तीन पकट वैदेशिक रोजगारीमा गए। तीनै पटक एजेन्टको श्रीमति भएर सिमाना र विमास्थल पार गरे।’ चप्पाले भनिन, ‘एजेन्टले ७ वर्षअघि एजेन्टले टर्की, यूएई र कुवेत हुँदै इरान घरेलु रोजगारीमा पठाएका थिए। वैदेशिक रोजगारीमा जाँदा बाटैपिच्छे एजेन्टको श्रीमति भएर भारतसम्म पुगेर मात्र तेस्रो देश गएको छु।’ चम्पाका अनुसार अवैध बाटो हुँदै वैदेशिक रोजगारीमा जाने महिला कामदारले देशैपिच्छे फरक–फरक एजेन्टसँग सम्पर्क गर्नुपर्छ।
प्रहरीले शंका गरेर समाउँछ भनेपछि एजेन्टले श्रीमति हो भनेर सिमाना कटाउँछन्। त्यति मात्र होइन भारतबाट खाडीका देश जाँदा पनि कतिपय एजेन्टले त्यसरी नै सेटिङमा लैजाने गरेको चम्पाले जानकारी दिइन्। वैदेशिक रोजगारीले सबै कुरा लुट्यो, जीवन भर सम्झिने पीडा दियो र परिवारबाट छुटाएर एक्लौ बनाएको उनी गुनासो गर्छिन। चम्पाले सात वर्ष अगाडी वैदेशिक रोजगारीमा जाँदा काभ्रेका विनोद भन्ने एजेन्टलाई ३ लाख रुपैयाँ बुझाइकी थिइन।
यसरी हराइन इरानमा नेपालबाट हङकङ रोजगारीमा पठाउने भनेर एजेन्टले २०७२ सालमा गएको भुकम्पपछाडी भारत पु¥यायो। भारतमा ४ महिना बसेपछि यूएईबाट सजिलो हुन्छ भनेर एजेन्टले फेरी त्यहाँ पु¥याएको चम्पाले जानकारी दिइन्। भारतमा पनि एजेन्टले त्यति बेला सात वटा शहर घुम्यो। कुन्–कुन् शहर हो थाहा भएन। प्रहरीसँग जोगिर्दै एजेन्टले २१ जना महिलालाई श्रीमति भन्दै भारतका मुख्य शहर घुमाएको चम्पालाई सम्झना छ।
एजेन्टले सात वर्षअघि नै हङकङ भनेर युएई हुँदै कुवेत पु¥याएको थियो। कुवेतमा एक महिना राखेपछि मध्यरातमा बस चढाएर तीन दिनपछि इरान पुगेको उनलाई याद छ। ‘मसँगै गएकी एक नेपाली महिला साथीलाई हङकङ यही हो भनेर सोध्दा उनी हाँसेपछि इरान आएको थाहा पाए। इरान पुगेको दुई दिनपछि त्यहीँको एउटा घरमा इरानकै एजेन्टले काम पठायो।’ उनले भनिन, ‘त्यो इरानीको घरमा ३ पुरुष र एक महिला थिए। त्यहाँ मेरो घर सर–सफाइ गर्ने काम थियो। इरानी भाषा नआउने भएका कारण एक वर्ष परिवारसँग सम्र्पक भएन।’ मैले काम गर्न थालेको एक वर्षपछि इरानी साहुले त्यहाँको एउटा गाँउमा लग्यो।
त्यसपछि परिवारसँग सम्र्पक गर्न सम्भव नभएको उनले जानकारी दिइन्। उनी भन्छिन् ‘मैले काम गर्ने साहुको धेरै प्रकारका चरा–पंन्छीको फार्म थियो। त्यो फार्ममा बंगलादेशका कामदार पनि थिए। साहुले छ वर्ष उसकै श्रीमति जस्तै बनाएर राख्यो। फार्मबाट बाहिर निस्कन दिएन। फोन पनि चलाउन पाइन्।’ उनले भनिन, ‘तँलाई पैसा तिरेर किनेर ल्याएको हौं। जे भन्छौँ, तैँले त्यही मान्नुपर्छ। नत्र जे पनि हुनसक्छ भनेर धम्क्याउथिए।
भाषा नआएका कारण जे भन्यो त्यहीँ माने। त्यसरी नै सात बर्ष बित्यो।’ फार्ममा चरालाई पानी दिने,सर–सफाई गर्ने र खाना बनाउन काम गर्दा–गदै परिवार पनि बिर्सिन बाध्य हुनुपरेको उनको भनाइ छ। म त्यही गाँउ करिब ६ वर्ष बसे, भाग्ने र फोन गर्ने मौका पनि परेन र यो छ वर्षमा धेरै पीडा भोगेर फर्किनुपरेको उनको गुनासो छ। म बसेको गाँउमा इन्टरनेट कोरोना महामारीका बेला मात्र पुगेको थियो। इन्टरनेट पुगेपछि मैले स्वदेश फर्किन धेरै प्रयास गरेर तर इरानमा कोही नेपाली भेटिन, त्यही भएर तीन वर्ष बस्नुपरेको उनले जानकारी दिइन्।
इरान पुगेको सात वर्षपछि उनैसँग एउटै फार्ममा काम गर्ने बंगली कामदारमार्फत उनी छोरीसँग फेसबुकमा जोडिन। छोरीसँग सबै कुरा गरेपछि छोरीले कुवेतस्थित नेपाली दूतावास र अन्य संघसंस्थासँग सहयोग मागेर स्वदेश फकाउन सफल भएको उनको भनाइ छ। अन्तिममा साहुले पनि राम्रै गरी घर पठायो र सात वर्षको तलब पनि दिएको चम्पाले जानकारी दिइन। साहुले ३४ लाख नेपाली तलब दिएर घर पठाएको चम्पाले बताइन््।
सात वर्षपछि नेपाली फर्किदाँ चम्पाको घरमा छोरा–छोरी मात्र थिए। सात वर्ष इरानमा चम्पा हराएपछि श्रीमानले नेपालमा अर्की श्रीमति ल्याएर दुई जना बच्चा पनि भइसकेका छन्। श्रीमानले अर्की श्रीमति ल्याएको छोरीले भनेपछि मात्र थाहा भएको उनको भनाइ छ। छोरा–छोरीसँग भेटेपनि चम्पा घर जान सकेकी छैन। हाल चम्पा काठमाडौंको एक संस्थामा सिलाईबनाई सिक्नका लागि बसेकी छिन्। उनलाई उद्धार गरि स्वदेश फकाउने संस्थाले नै वैदेशिक रोजगारीका क्रममा समस्यामा परेको फर्किएका महिलालाई निःशुलक सीपमुलक तालिम दिने गरेको छ।
नेपालबाट धेरै महिला भारतको बाटो भएर तेस्रो देश तस्करी पु¥याइने गरेको छ। भारत हुँदै वैदेशिक रोजगारीमा जाने नेपाली महिलाहरु खाडी देश, मलेसिया, अफ्रिकी देश र युरोपमा तस्करी भइरहेको छ। भारतपछि बंगलादेश, चीन, श्रीलंका र थाइल्यान्ड तस्करको मुख्य रुटभित्र पर्छन। भारत, इन्डोनेसिया, श्रीलंका, बंगलादेश, इथियोपिया, घाना र नेपाललगायत देशबाट घरेलु कामका लागि महिला तस्करी हुने गरेको छ।
राज्यले स्वदेशमा रोजगारीको सिर्जना गर्न नसक्दा धैरै संख्यामा महिलाहरू विदेश जान बाध्य हुनुपरेको पौरखी नेपालकी अध्यक्ष मन्जु गुरुङ बताउँछन्। अवैध बाटो भएर वैदेशिक रोजगारीका लागि विदेश गएका महिलाहरू जोखिममा रहेको पनि घटनाक्रमले उजागर गरेको उनले जानकारी दिइन्। ‘वैधानिक रूपमा विदेश जाने बाटो बन्द भएपछि अवैधानिक रूपमा तेस्रो देशको बाटो हुँदै खाडीलगायतका मुलुकमा जाने महिलाको संख्या बढ्दै गएको छ।
यो समस्या सरकारले नै सिर्जना गरेको हो।’ उनले भनिन। सरकारकै कारण वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगि गर्न एजेन्टहरुलाई हौसला बढेको उनको आरोप छ। २०७२ साल चैतदेखि सरकारले खाडीका ६ देश र मलेसियामा घरेलु काममा जाने कामदारलाई श्रम स्वीकृति जारी गरेको छैन। तर तेस्रो देशको बाटो हुँदै नेपाली महिला खाडीका देश र मलेसिया रोजगारीमा गइरहेका छन्। वैदेशिक रोजगारी क्षेत्रमा काम गर्दै आएका विभिन्न संघसस्थाका अनुसार भारतलागयतका देश हुँदै वार्षिक २० हजार महिला रोजगारीको प्रलोभनमा खाडी र मलेसियामा तस्करी भइरहेका छन्। ती संस्थाका अनुुुसार अवैध बाटो भएर विदेशिने अधिकांश महिला अशिक्षित, अर्धशिक्षित र पारिवारिक समस्यामा परेको हुने गरेका छन्।